बुटवल नारायणघाट सडक चमत्कारिक ढङ्गबाट सम्पन्न हुने अवस्थामा पुग्यो

Nepal Cover
८ फाल्गुन २०८२, शुक्रबार
image

बुटवल। नारायणघाट- बुटवल सडक सुरु गरे संगै कोभिड रोगको महामारी सुरुभयो।
साना पुल भत्किएको कारण डाइभर्सन बाट हिडनुपर्दा सर्वसाधारणलाई सास्ती भएका कारण नागरिकको तहमा असन्तोष देखिए संगै त्यस भित्रका निर्माणकार्य सम्पन्न हुने अवस्था सम्म आइपुग्दा दर्जनौं चुनौतीलाई पार लाउदै कामको लय समात्न कम्ता कठिनाइ थिएन तर पनि आयोजना प्रमुख इन्जिनियर चुडाराज ढकालको जिम्मेवारी पुरा गराउने सक्रियताका सामु चुनौतीपूर्ण अवस्था पार लाउदै हाल चमत्कारिक ढंगबाट अन्तिम अवस्थामा पुगेको छ।
यो अवस्था सम्म आइपुग्न कानुनी अड्चन र ठेकेदारले घाटा लाग्ने भन्दै काम छोडेर हिडेको अवस्था र बेलावखत देखाएको अटेरीपनलाई चिर्दै आयोजना प्रमुख इन्जिनियर ढकालले सडक निर्माणकार्यलाई अब भने अन्तिम चरममा पुर्याएका छन्।
प्राप्त जानकारी अनुसार चाइनिज इन्जिनियरिङ ग्रुप अफ कन्ट्रक्सन कम्पनीले १७ अरबमा ठेक्का लिएको यो सडक अहिलेको अवस्थामा ३० अरब खर्च हुने भएका कारण ठुलै घाटा ब्यहोरेर चाइनिज ठेकदार कम्पनीले काम सम्पन्न गर्ने अवस्थामा पुगेको छ। मन्त्रालयका सचिब केशव कुमार शर्मा र आयोजना प्रमुख ढकालले कुटनैतिक प्रयास देखी आफनो कार्य दक्षताका हरेक फर्मुलालाइ सकारात्मक ढंगले प्रयोग गरेका कारण मात्रै यो सडक सम्पन्न हुन पुगेको सडकको वास्तविकता बुझ्नेहरु स्वयं प्रतिक्रिया दिन थालेका छन्।
कसरी भयो त काम
एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सञ्चालित नारायणघाट–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत ठेक्का सम्झौता मिति १९ डिसेम्बर २०१८ देखि निर्माण कार्य प्रारम्भ भएको हो। कुल करिब ११४ किलोमिटर लम्बाइको यस आयोजनाको कार्यान्वयन दुई आयोजना कार्यालयमार्फत भइरहेको छ — नारायणघाट–बुटवल सडक आयोजना कार्यालय (पूर्वी खण्ड) र नारायणघाट–बुटवल सडक आयोजना कार्यालय (पश्चिमी खण्ड)। सडक निर्माण सम्बन्धी दुवै ठेक्का अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, बेइजिङ, चीनले निर्माण कार्य सञ्चालन गरिरहेको छ।
हालको प्रगति
हालसम्म समग्र भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ। अधिकांश खण्डमा सडक निर्माण कार्य र पुलहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ।
हाल दाउन्ने क्षेत्र (करिब १४ किलोमिटर) मध्ये करिब ५ किलोमिटरमा मात्र निर्माण कार्य बाँकी रहेको छ। उक्त क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ र आयोजना २०८३ साल असारभित्र सम्पन्न हुनेछ।
आयोजना अवधि लम्बिनुका कारण कोभिड–१९ महामारी, रुख कटानमा भएको ढिलाइ, खानेपानी, ढल तथा विद्युत लगायत अन्य पूर्वाधार सार्ने कार्यमा आएका बाधा तथा निर्माण सामग्रीको आपूर्तिमा समस्याका कारण आयोजनाको समयावधि थप गर्नुपरेको थियो। तथापि, अहिले आयोजना निर्धारित लक्ष्यअनुसार सुचारु रूपमा अघि बढिरहेको छ।
दाउन्ने क्षेत्रमा सडक संरचना परिवर्तनको कारण
यस आयोजनाको प्रारम्भिक डिजाइनमा समथर भूभागको फराकिलो सडक र पहाडी क्षेत्रको दाउन्ने खण्ड दुवैका लागि एकै प्रकारको कालोपत्रे सडक प्रस्ताव गरिएको थियो।
तर निर्माण चरणमा विभिन्न विशेषज्ञहरूले अध्ययन गर्दा समथर र पहाडी भूभागको अवस्था पूर्णतः भिन्न हुने भएकाले दुवैका लागि एकै प्रकारको सडक संरचना दाउन्नेमा दीर्घकालीन रूपमा उपयुक्त नहुने निष्कर्ष रहेको।साथै दाउन्ने क्षेत्रमा उच्च उकालो, तीखा घुम्ती, कमजोर जमिन, भारी सवारी चाप, पानी चुहावट, पहिरोको जोखिम, Box Cutting , तथा प्रतिकूल मौसम जस्ता विशेष चुनौतीहरू विद्यमान छन्। यी कारणले सामान्य कालोपत्रे सडक छिट्टै बिग्रिने र मर्मतमा बारम्बार ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेको देखिएको कारण यसपछि अन्तर्राष्ट्रिय निर्माण सुपरिवेक्षण परामर्शदाता, डिजाइन परामर्शदाता तथा स्वतन्त्र तेस्रो पक्ष विशेषज्ञ सहित सबै प्राविधिक पक्षको सर्वसम्मत सुझावका आधारमा तथा विभागमा घनिभूत छलफलको आधारमा दाउन्ने खण्डमा ढलान (Rigid Pavement/Concrete) सडक निर्माण गर्ने निर्णय आयोजना पुगेको हो।
ढलान सडकको प्रारम्भिक निर्माण लागत कालोपत्रे भन्दा बढी देखिए पनि यसको आयु करिब ३० वर्षको हुने, मर्मत खर्च न्यून लाग्ने र पहाडी भूभागमा अझ बढी टिकाउ हुने भएकाले सडक बारम्बार बिग्रने र मर्मत हुने क्रम उल्लेखनीय रूपमा घट्नेछ। यसरी निर्माण लागत, मर्मत खर्च र सडक प्रयोगकर्ता लागत सबैको समग्र विश्लेषण गर्दा दाउन्ने क्षेत्रको लागि ढलान सडक दीर्घकालमा आर्थिक रूपमा बढी किफायती र फाइदाजनक हुने विज्ञहरुको सुझाव रहेको छ । विस्तृत अध्ययन, तथ्यांक प्रमाणीकरण तथा डिजाइन परामर्शदाता र ADB को समेत राय सुझाव लिई सम्पूर्ण प्रक्रिया पूरा गरी आवश्यक स्वीकृतिपश्चात् यो निर्णय कार्यान्वयनमा ल्याइएको हो।
निर्माण कार्य जारी रहेको यस अवधिमा दाउन्ने खण्डबाट यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले भोग्नुपरेको असुविधाप्रति आयोजना सधैं सचेत हुँदै समय अगाडि नै सडक निर्माणकार्य सम्पन्न गराउन लागी परेको तथ्य बुझी दिन आग्रह समेत गरेको छ।
२०८३ साल असारभित्र निर्माण कार्य सम्पन्न भएपश्चात् यस खण्डमा टिकाउ, दिगो र उच्च गुणस्तरको ढलान सडक उपलब्ध हुने बताइएको छ, जसले हाल विद्यमान सबै समस्याहरू दीर्घकालीन रूपमा समाधान गर्नेछ। यस कठिन अवधिमा सडक प्रयोगकर्ताहरूले देखाउनुभएको सहयोग र धैर्यताले समेत काम अगाडि बढाउन मद्दत पुगेको आयोजनाका एक इन्जिनियरले सम्पत्ति न्युजलाइ बताए।
आयोजना नेतृत्व ढकालले खेल्नु भएको महत्त्वपूर्ण योगदान र टिमवर्कको काबिलपनले नारायणघाट–बुटवल सडक विस्तार आयोजना अहिले अन्तिम चरणमा पुगेको छ। दाउन्ने जस्तो संवेदनशील पहाडी क्षेत्रमा दीर्घकालीन सुरक्षा, टिकाउपन र आर्थिक मितव्ययितालाई प्राथमिकतामा राखेर सबै प्राविधिक विशेषज्ञहरूको सहमतिमा गरिएको यो निर्णयले सडकलाई भविष्यमा अझ भरपर्दो र दिगो बनाउने विश्वास लिएर अगाडि बढनु सामान्य कुरो पनि होइन। आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य जारी रहेको आयोजनाको कामको रफतार नियाल्दा जो कोहि पनि सजिलै बुझ्न सक्छ्न।