रास्वपाले चुनाव भाँड्न खोज्यो ओलीको आरोप

Nepal Cover
९ फाल्गुन २०८२, शनिबार
image

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावमा पराजय देखेपछि विभिन्न हत्कन्डा अपनाएर वातावरण असहज बनाउने प्रयास गरेको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले रास्वपाले तनाव बढाउने र चुनाव प्रभावित गर्ने गतिविधि गरिरहेको बताए।

ओलीले रास्वपाका पछिल्ला व्यवहारहरू अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने जस्ता देखिएको बताए । रास्वपाल चुनाव नजित्ने निष्कर्ष निकालेर सोही अनुसारको व्यवहार गरेको ओलीको आरोप छ । 
‘मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ । त्यसकारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेको छ,’ ओलीले भने । 
रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको पनि ओलीले आरोप लगाए । 

‘उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, पक्षमा नतिजा आउँदैन भने चुनाव लड्न नदिने, खालको प्रवृत्तिमा देखिन्छ । मैले केही दिनयताका घटनाक्रम देख्दा रास्वपाले चुनाव भाँड्न खोजेको, जस्तो देखिन्छ,’ ओलीले भने, ‘निर्वाचन भनेको बलजफ्ती गर्ने विषय होइन । नियम कानुनभित्र स्वच्छ प्रतिस्पर्धा, शान्तिपूर्ण वातावरण र निष्पक्ष, धाँधलीरहित चुनाव हुनुपर्छ । शान्तिपूर्ण वातावरणमा हुनुपर्छ ।’