समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी

Nepal Cover
२७ फाल्गुन २०८२, बुधबार
image

काठमाडौं । निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सांसद छान्नका लागि पत्राचार गर्ने तयारी गरेको छ । दलहरूले पाउने सांसद संख्या तोकेर विभिन्न समावेशी समूहहरूबाट संविधान अनुसार प्रतिनिधित्व गराउँदै दलहरूले समानुपातिक सांसद छान्नुपर्नेछ ।

२१ फागुनको निर्वाचनका लागि दलहरूले गत पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फको १६५ सिटकै नतिजा आइसकेको छ । समानुपातिक तर्फको पनि केही दिनभित्र सकिन्छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूले पाएको सदर मतको आधारमा समानुपातिक तर्फको सिट तय हुन्छ । सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ ।

‘भ्याएसम्म आजै बेलुकी वा भोलिसम्ममा दलहरूलाई पत्र लेखेर बन्द सूचीमा रहेका नामबाट नाम सिफारिस गर्न पत्र लेखिनेछ’ उनले भने ।

दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुनः हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएलगत्तै निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ ।