प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगले उम्मेदवार तथा दललाई निर्देशन दिएको छ।
बिहीबार आयोगले प्रेस विज्ञप्ति जारी गरी सबै उम्मेदवार र राजनीतिक दललाई ३५ दिनभित्र खर्च विवरण सार्वजनिक गरेको जानकारी आयोगमा बुझाउन भनेको छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा २ मा राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।
त्यही व्यवस्थाका आधारमा आयोगले सबै उम्मेदवारलाई खर्च विवरण सार्वजनिक गर्न भनेको हो। उम्मेदवारले सम्बन्धित जिल्ला वा प्रदेशको निर्वाचन कार्यालयको सूचना पाटी, गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन) वा सामाजिक सञ्जाल फेसबुक, एक्स, इन्स्टाग्राममार्फत सार्वजनिक गर्न सकिनेछ।
यीमध्ये कुनै एक माध्यममा सार्वजनिक गरेको विवरण निर्वाचन आयोगमा पनि बुझाउनुपर्नेछ। उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र राजनीति कदलले निर्वाचन आयोगको कार्यालयमा आम्दानी र खर्चको विवरण बुझाउनुपर्नेछ।