रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

Nepal Cover
२९ फाल्गुन २०८२, शुक्रबार
image

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनसम्बन्धी विधान संशोधन गर्ने तयारी गरेको छ । वर्तमान व्यवस्थाअनुसार संसदीय दलको नेता चयन गर्न पार्टीका सबै साधारण सदस्यले मतदान गर्नुपर्ने प्रावधान रहेकाले त्यसलाई समयानुकूल बनाउने तयारी गरिएको हो ।

रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था उल्लेख छ। सोही धाराको उपधारा ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान रहेको छ। यही व्यवस्थालाई परिवर्तन गर्न पार्टीले विधान संशोधन गर्ने तयारी गरेको हो।

पार्टीका नेताहरूका अनुसार सबै साधारण सदस्यलाई मताधिकार दिएर संसदीय दलको नेता चयन गर्ने विधि व्यवहारिक रूपमा लागू गर्न कठिन हुने देखिएकाले नयाँ प्रक्रिया तय गर्ने तयारी गरिएको हो। त्यसअनुसार प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूमध्ये बहुमत मत प्राप्त गर्ने उम्मेदवारलाई संसदीय दलको नेता बनाउने व्यवस्था ल्याउने विषयमा छलफल भइरहेको बताइएको छ।

यसैबीच रास्वपाले संसदीय दलको नेता वरिष्ठ नेता बालेन्द्र साहलाई सर्वसम्मत रूपमा चयन गर्ने तयारी पनि गरेको छ। पार्टीको विधानअनुसार सरकार गठनको अवस्था आएमा संसदीय दलको नेताले नै नेतृत्व गर्ने भएकाले साहलाई उक्त जिम्मेवारी दिने योजना बनाइएको बताइएको छ।

रास्वपा र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर समूहबीच एकता हुँदा भविष्यमा सरकारको नेतृत्व बालेन्द्र साहले गर्ने सहमति भएको उल्लेख गरिएको छ।