चैत १२ गते नवनिर्वाचित सांसदलाई शपथ खुवाउने तयारी

Nepal Cover
४ चैत्र २०८२, बुधबार
image

काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई यही चैत १२ गते शपथ खुवाउने तयारी गरेको छ । २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका आएका प्रत्यक्ष १६५ र समानुपातिकतर्फ १२५ सांसदलाई १२ गते शपथ खुवाउने तयारी भएको हो ।

संसद सचिवालयले निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण र पहिलो बैठकको सम्भावित मिति तय गर्दै आन्तरिक तयारी अगाडि बढाएको छ।

संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार, छिटोमा चैत १२ गतेसम्म निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, प्रतिनिधिसभाको पहिलो बैठक चैत १५ गतेका लागि तय गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए।

उनका अनुसार, निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचन परिणाम तथा निर्वाचित सदस्यहरूको विवरण बुझाएपछि मात्र सचिवालयले औपचारिक प्रक्रिया सुरू गर्नेछ। ‘आयोगबाट विवरण प्राप्त हुनेबित्तिकै शपथ र बैठकका लागि आवश्यक सबै प्रक्रिया अघि बढाइनेछ,’ उनले भने।

निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिरहेको छ। सो प्रतिवेदन बुझाएपछि नयाँ प्रतिनिधिसभा गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

संविधानअनुसार, निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ। त्यसअघि निर्वाचित सांसदहरूको शपथ ग्रहण अनिवार्य हुन्छ।

सचिवालयले शपथ ग्रहण कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीसमेत तीव्र पारेको जनाएको छ। नयाँ सरकार गठनको प्रक्रिया समेत यसैसँगै अघि बढ्ने भएकाले राजनीतिक वृत्तमा चहलपहल बढेको छ।

यससँगै, मुलुकमा नयाँ जनप्रतिनिधिहरूको औपचारिक प्रवेश र संसदीय प्रक्रिया सुरू हुने चरणमा पुगेको छ।