काठमाडौँ । इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो ।
यो हमला अमेरिका र इरानबीच युद्धविराम भएको केही घन्टामै भएको हो। दक्षिणी लेबनन, बेरूत र बेका भ्यालीमा १० मिनेटभित्रै १०० वटाभन्दा बढी ठाउँमा आक्रमण भएको बताइएको छ ।
आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १०० भन्दा बढी घाइते भएको लेबनानको नागरिक सुरक्षा निकायलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
हिजबुल्लाहले गएरातिको आक्रमण फेब्रुअरीयता सुरू भएको युद्धकै सबैभन्दा घातक दिन भनेको छ । अमेरिकी समाचार संस्था एशोसिएट प्रेसले भने घटनामा कम्तिमा १८२ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
राजधानीका विभिन्न भागबाट कालो धुवाँ आकाशतर्फ उडिँरहेको देखिएको थियो भने एम्बुलेन्सहरू आक्रमण भएठाउँमा दौडिँदै गरेको दृश्यरहरू देखिएको भनेर एपीले लेखेको छ।
इजरायलले युद्धविराममा हिजबुल्लाह नसमेटिने बताउँदै आएको छ। यद्यपि बुधबार बिहान भएको युद्धविराममा लेबनन लगायत सबै पक्ष समेटिने भनेर मध्यस्थता गरिरहेको पाकिस्तानले बताएको थियो।
इरान युद्धमा ट्रम्पले गरेको युद्धविरामलाई समर्थन गरे पनि इजरायलले लेबनन भने त्यसमा नपर्ने बताएको थियो। इरानले प्रस्ताव गरेको युद्धविरामका १० बुँदामा इरान समर्थित समूह रहेका देशमा पनि युद्धविराम हुने प्रस्ताव उल्लेख छ।
युद्धविराम हुँदा ट्रम्पले इरानले पठाएका सर्तहरू छलफलयोग्य भएकाले युद्धविराममा सहमत भएको बताएका थिए।