सय दिनमा सरकारले जनतालाई खुसी बनाउने कुनै काम गरेन : ओली

सम्पत्ती न्यूज
२५ असार २०८३, बिहीबार
image


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले कार्यकालको पहिलो सय दिनमा जनतालाई खुसी बनाउने कुनै काम गर्न नसकेको दाबी गरेका छन्।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सय दिनमा सरकारले जनतालाई रुवाउनेबाहेक खुसी हुने कुनै काम नगरेको टिप्पणी गरे ।

उनले देशमा खुसी हुनका लागि राति अबेरसम्म विश्वकप फुटबल खेल हेर्नुको विकल्प नरहेको बताए । सरकारलाई भाडोमा उम्लिएको दूधसँग तुलना गर्दै अध्यक्ष ओलीले सरकारको खुट्टा भुइँमा नभएको र कर्तव्यबोध शून्य रहेको धारणा राखे ।

उनले प्रधानमन्त्री वा मन्त्रीविरुद्ध बोलेमा वा जेल जानुपर्ने स्थिति सिर्जना भएको भन्दै झुक्किएर पनि उनीहरूका बारेमा नबोल्न सुझाव दिए । उनले सरकारलाई कति नम्बर दिने भन्ने कुरा जनता र सञ्चारमाध्यमकै हातमा रहेको उल्लेख गरे ।

एमाले सक्कियो भन्ने टिप्पणीप्रति अध्यक्ष ओलीले एमाले सकिन नभइ देश बनाउन र सफलता प्राप्त गर्न जन्मिएको पार्टी भएको दाबी गरे । कार्यक्रममा ओलीले नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरूलाई एमालेमा प्रवेश गराए ।