पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

Nepal Cover
७ बैशाख २०८३, सोमबार
image

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले कर्णालीको विकट भूगोल र महँगो जीवनस्तरलाई ध्यानमा राख्दै इन्धनमा विशेष सहुलियत दिनुपर्नेमा जोड दिए।

“कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,” उनले भने, “नजिकको छिमेकी देश भारतले पनि इन्धनमा मूल्य वृद्धि नगरेको भन्दै यसमा सरकारले नागरिकमाथि मूल्य वृद्धिको भार घटाउनुपर्छ र स्तरीकरण गर्न सक्नुपर्छ ।”

दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने अध्यक्ष घिसिङले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा र सरकारमा रहँदा कर्णालीको विद्युतीकरणमा र ‘ट्रान्समिसन लाइन’का लागि करिब रु ३५ अर्ब लगानी सुनिश्चित गरिएको उनले जिकिर गरे ।

उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म भइरहेको छ । छोटो समयमै पार्टी गठनले त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै चुनावमा जानुपर्ने बाध्यता भएकाले हार व्यहोर्नु परेतापनि अबको चुनावमा उनेपा ठूलो पार्टी भएर आउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने उनको भनाइ थियो ।