विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राखौँ : शिक्षामन्त्री पोखरेल

Nepal Cover
८ बैशाख २०८३, मंगलवार
image

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयहरूलाई राजनीतिक दलको प्रभावबाट मुक्त राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।

मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा मंगलबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक संस्थामा दलीय हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे। राजनीति समाज निर्माणका लागि आवश्यक भए पनि यसको प्रयोग उचित क्षेत्र र सन्दर्भमा सीमित हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारीहरू पनि राजनीतिक प्रभावबाट टाढा रहनुपर्नेमा जोड दिँदै शिक्षा प्रणालीलाई व्यावहारिक, सिपमूलक र रोजगारसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार ज्ञान मात्र पर्याप्त नभई त्यसलाई सीप र पेशामा रूपान्तरण गर्ने क्षमता विकास अहिलेको प्रमुख चुनौती हो।

उनले विश्वविद्यालयलाई केवल डिग्री प्रदान गर्ने संस्थाका रूपमा सीमित नराखी अनुसन्धान र नीति निर्माणमा समेत केन्द्रित गर्नुपर्ने धारणा राखे। साथै उनले विद्यार्थीहरूलाई रोजगार खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्न प्रेरित गरे।

कार्यक्रमका प्रमुख अतिथि भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्चका निर्देशक प्रा. डा. विवेक लालले शिक्षा र श्रमबीचको सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार व्यावहारिक सीपबिनाको शिक्षा उत्पादनसँग जोडिन नसक्ने भएकाले शिक्षा व्यवहारमुखी हुन आवश्यक छ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजुकुमार थपलियाले शैक्षिक संस्थालाई केवल भौतिक संरचना नभई समाज निर्माणको आधार स्तम्भका रूपमा बुझ्नुपर्ने बताए।

यस वर्ष एमफिल, स्नातकोत्तर र स्नातक तह पूरा गरेका ६ हजार ७०६ विद्यार्थीमध्ये ४ हजार ६५२ जना दीक्षान्त समारोहमा सहभागी भएका छन्। तीमध्ये कलातर्फ १८४, शिक्षातर्फ ९९८, कानुनतर्फ ६२२, व्यवस्थापनतर्फ २ हजार २६४, मेडिकल तथा एलाइडतर्फ ६२४, इन्जिनियरिङतर्फ १ हजार २६२ र विज्ञान तथा प्रविधितर्फ ७४७ विद्यार्थी रहेका छन्।

दीक्षितमध्ये ५ जनाले एमफिल, १ हजार ४१३ जनाले स्नातकोत्तर र ५ हजार २८८ जनाले स्नातक तहको उपाधि प्राप्त गरेका छन्। विभिन्न संकायका उत्कृष्ट २१ विद्यार्थीलाई कार्यक्रममा स्वर्ण पदक प्रदान गरिएको थियो।