पाँचदिने ‘लकडाउन’ सुरु

Nepal Cover
१८ कार्तिक २०७७, मंगलवार
image

पर्वत । पर्वतको मोदी गाउँपालिकामा कोरोना सङ्क्रमण फैलन नदिन पाँच दिन लकडाउन गरिएको छ । मोदी गाउँपालिकाले गरेको कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्क पहिचान (कन्ट्याक्ट टे«सिङ) को काम भइरहेकाले समुदायमा सङ्क्रमण फैलन नदिन सोमबार राति १२ बजेदेखि पाँच दिन लकडाउन गरिएको हो ।

मोदी गाउँपालिकाको पालिकास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले पाँच दिनसम्म पालिकाका सबै सेवा र अत्यावश्यकबाहेक सबै पेशा व्यवसाय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए।

गाउँपालिकाका अुनसार सबै वडा कार्यालयको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक सङ्घसंस्थाबाट प्रदान गरिने सेवा, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवं सहकारीबाट प्रदान गरिने सेवा कात्तिक २२ गते राति १२ बजेसम्म बन्द हुनेछन् ।

यसैगरी गाउँपालिकाको बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भद्रखोला र अम्बोटजस्ता बजार क्षेत्रका अत्यावश्यक सेवा र वस्तुबाहेकका पसल पनि बन्द हुने भएका छन् भने गाउँपालिकाकोे विभिन्न शाखा सडकबाट सञ्चालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने गाउँपालिकाभित्रको लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रोक नलगाइएको क्षेत्रीले बताए ।

अत्यावश्यक काममा बाहेक पाँच दिन छिमेकी स्थानीय तह एवं जिल्लाबाट मोदी गाउँपालिकामा आवतजावत नगरिदिन पनि अनुरोध गरिएको छ । गाउँपालिकामा गरिएको सम्पर्क पहिचानका दुई जनामा कोरोना पुष्टि भएको र आगामी दिनमा सङ्क्रमण अझै उच्च हुनसक्ने भएकाले सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको पालिकाले जनाएको छ ।