कार्यालय प्रमुखलाई कोरोना पुष्टि भएपछि मालपोत कार्यालय बन्द

जिप्रको सेवा लिन पनि पालो बाडियो

  Sampatti News

November 9, 2020

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मालपोत कार्यालय, चौताराबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । कार्यालयका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको हो ।

कार्यालयले आज सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द हुने जानकारी गराएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख गोवद्र्धन ढकालद्वारा जारी विज्ञप्मिा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासनमा सेवा लिन पनि पालिका अनुसार आलोपालो

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय पनि आलोपालो सेवा प्रदान गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सुचनानुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन् ।

जारी सुचना अनुसार चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिकाका सेवाग्राहीले आइतबार मात्रै सेवा पाउनेछन् र सो बाहेक अन्य दिन ती स्थानीय तहका सेवाग्राहीलाई कार्यालयले सेवा दिइने छैन ।

नयाँ नीतिअनुसार सोमबार मेलम्ची नगरपालिका र बलेफी गाँउपालिका, मंगलबार बाह्रबिसे नगरपालिका र हेलम्बु गाँउपालिका, बुधबार त्रिपुरासुन्दरी गाँउपालिका र लिसंखुपाखर गाँउपालिका, बिहीबार भोटेकोसी गाँउपालिका र पाँचपोखरी गाँउपालिका र शुक्रबार सुनकोशी गाँउपालिका र इन्द्रावती गाँउपालिकाका स्थानीयले मात्रै सेवा पाउनेछन् ।

प्रकाशित मिति:November 9, 2020