November 9, 2020
भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई अस्वीकार गरिएको छ । नगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकमा ११ जना सदस्यले विवादका बीच प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई सङ्घीय मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको हो ।
उनीहरुले रिजाललाई तत्काल मन्त्रालय फिर्ता गरी अर्को प्रशासकीय अधिकृत पठाउन आग्रह गरेका छन् ।
बैठकमा कूल १९ जना सदस्यमध्ये उपप्रमुख अन्जनादेवी मधिकर्मीसहित आठ कार्यपालिका सदस्य अनुपस्थित थिए । नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष राम थापाले बैठक वैधानिक नभएको आरोप लगाउँदै प्रशासकीय प्रमुखलाई फिर्ता नपठाइएको जिकिर गरे ।
बैठकपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजालले नगरसभाबाट विनियोजित बजेट र उपभोक्ता समितिमार्फत भइरहेका कार्यमा असहयोग गरेकाले फिर्ता पठाउन आग्रह गरिएको जानकारी दिए ।
उनले रिजालले नगरपालिकाको आन्तरिक राजनीतिमा सहभागी भई बजेट र कार्यक्रम रोक्ने, नगरपालिकाका आन्तरिक दस्तावेजलाई बदनियतपूर्वक बाहिर पठाएर सामाजिक सञ्जालमा हाल्न लगाउने, वडाध्यक्षलाई फोन गर्दै प्रमुखलाई घेराबन्दीमा पार्न उक्साउने गरेको आरोप लगाए ।
प्रशासकीय अधिकृत रिजालले भने सरकारले नै महामारीमा घरमा बसेर काम गर्नु भनेकाले घरमै बसेर काम गरेको बताउँदै नगरपालिकामा उपभोक्ता समितिमार्फत काम गर्ने गरी कार्यविधि नबनेकाले भुक्तानी नदिइएको जवाफ दिए ।
प्रकाशित मिति:November 9, 2020