November 9, 2020
नुवाकोट । नुवाकोटमा यही कात्र्तिक २६ गतेदेखि निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएको हो । साथै यो वर्षको तिहारमा देउसीभैलो पनि खेल्न निधेष गरिएको छ ।
काठमाडौँस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना सङ्क्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई अपिल गरिएको छ ।
जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको आदेशमा भनिएको छ ।
निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६१९ पुगेको छ । तीमध्ये २८८ जना रोग जितेर घर फर्किसकेका छन् भने ३२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमतिमध्ये सात जना त्रिशूली अस्पतालको आइसोलेसनमा र ३२२ जनालाई चिकित्सकको निगरानीमा घरकै एकान्तबासमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।
प्रकाशित मिति:November 9, 2020