बन्दाबन्दीमा स्थानीय एजेन्टमार्फत ८ अर्ब बढीका वैदेशिक लगानीका प्रोजेक्ट दर्ता

  Sampatti News

November 10, 2020

काठमाडौं । नेपालमा बन्दाबन्दीको अवधिमा पनि वैदेशिक लगानीका परियोजना दर्ता भइरहेका छन् । चैत ११ गतेदेखि साउनको ५ गतेसम्मको बन्दको समयमा पनि ५ देशका लगानीकर्ताले ५२ वटा प्रोजेक्ट उधोग विभागमा दर्ता गराएका छन् ।

विभागका अनुसार बन्दाबन्दीको यो अवधिमा चीन, भारत, सिंगापुर, मलेशिया, नेदरल्यान्डका परियोजनाको कुल लगानी रू. ८ अर्ब ३७ करोड रहेको छ । सरकारले चैतदेखि जारी गरेको बन्दाबन्दी साउन ६ गते मध्यरातबाट खुला गरेको थियो । यस अवधिमा कर्मचारीहरू आलोपालो गरी विभागका कामहरू सुचारू गरिएकाले ती देशका लगानीकर्ता नेपालमा नआए पनि नेपाली एजेन्टले परियोजना दर्ता गरेको विभागका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए ।

‘अनलाइन र भौतिक रूपमै उपस्थिति भएर उद्योगमा परियोजनाहरू दर्ता गर्न सकिन्छ,’ उनले भने, ‘विदेशी लगानीकर्ताको हकमा उनीहरूले नेपाली स्थानीय एजेन्टलाई अख्तियारी दिएका हुन्छन् र उनीहरूमार्फत नै बन्दाबन्दीको अवधिमा पनि परियोजना दर्ता गराएका हुन् ।’ यस अवधिमा दर्ता भएकामध्ये चिनियाँ लगानीका परियोजनाहरू उल्लेख्य मात्रामा दर्ता भएका छन् ।

चीनबाट सबैभन्दा बढी ४५ ओटा परियोजना दर्ता गराएको छ । तिनमा सेवामुलक र पर्यटनसम्बन्धी परियोजना अधिक छन् । चिनियाँ लगानीकर्ताको रोजाइमा त्यसपछि सूचना तथा प्रविधि, उत्पादनमूलक प्रोजेक्टहरू परेका छन् । यी परियोजनाको कुल लगानी रू। ७ अर्ब ५३ करोड रहेको छ । त्यसपछि परियोजना दर्तामा गर्नेमा भारतीय लगानीकर्ता रहेका छन् । उनीहरूको रोजाइ पनि सेवा र पर्यटन नै परेको छ ।

भारतीय लगानीकर्ताका जम्मा चारओटा परियोजना दर्ता भएका छन् । यी प्रोजेक्टको कुल लगानी रू। ७० करोड ७५ लाख रहेको छ ।

त्यसपछि मलेशिया, सिंगापुरबाट पर्यटन र सेवामा १–१ ओटा र नेदरल्यान्डबाट पनि सेवा र पर्यटन गरी दुईओटा परियोजना उद्योग विभागमा दर्ता गरिएका छन् ।

२०७५–७६ को यही अवधिमा १८ देशका लगानीकर्ताले नेपालमा १३८ ओटा परियोजना दर्ता गराएका थिए । उल्लिखित ५ देशसहित बंगलादेश, अस्ट्रेलिया, म्यानमार, जर्मनी, जापान, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका, दक्षिण अफ्रिका जस्ता देशले परियोजना दर्ता गराएका थिए । साथै, यो अवधिमा १९ अर्ब ३६ करोड लगानीका परियोजना दर्ता गरिएका थिए ।(यो समचार आजको आर्थिक अभियान राष्ट्रिय दैनीकमा हिमा वि.क.ले लेख्नुभएको छ)

प्रकाशित मिति:November 10, 2020