तिहारमा बैंक नखुल्ने

  Sampatti News

November 10, 2020

काठमाडौँ । वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताए ।

अहिलेसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा सङ्क्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौँ, उनले भने। अहिले बैंकहरूले एटीएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएको भन्दै यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरेको बताएका छन् ।

सङ्घले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ । गएको वर्ष दशैँ तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति:November 10, 2020