विदेशी मुद्राको प्रमुख स्रोत पर्यटनः मन्त्री भट्टराई

Nepal Cover
३ मंसिर २०७७, बुधबार
image

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताए ।

झापाको विर्तामोडस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) शाखाको आज उद्घाटन गर्दै उहाँले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै नेपालमा पर्यटन क्षेत्र भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

“आर्थिक विकासको प्रमुख आधार नै पर्यटन क्षेत्र हो”, उनले भने, “झापा र प्रदेश नं १ पर्यटनको सम्भावनायुक्त क्षेत्र भएकाले यस क्षेत्रमा सर्वोत्कृष्ट जनशक्ति उत्पादन गर्न यहाँ नाथमको शाखा विस्तार गरेका हौैँ ।” मन्त्री भट्टराईले भारतसँग पूर्वी सिमाना जोडिएका मेचीनगर र विर्तामोड नगरपालिकामा तीन वटा फाइभस्टार होटलसँगै अन्य ठूला होटलसमेत स्थापना भइरहेकाले यहाँ चाहिने दश जनशक्ति उत्पादन गर्न नाथमको तेस्रो शाखा झापामा स्थापना गरेको बताउनुभयो ।

यसअघि नेपालगञ्ज र महोत्तरीमा शाखा विस्तार भइसकेको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले अब आङ्गनमै बसेर प्रदेश नं १ का जनताले होटल मेनेजमेन्ट पढेर पर्यटन क्षेत्रमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले चाँडै नै विदेशी पर्यटकले नेपाल घुम्न आउँदा अनिवार्य गाइड राख्नुपर्ने नियम बनाउने तयारी गरिरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा ठूलो जनशक्तिको आवश्यक पर्ने बताउनुभयो ।

विर्तामोडस्थित अनारमुनि पब्लिक क्याम्पसमा स्थापना गरिएको शाखामा स्नातकसम्मको पठाइ हुने नाथमका कार्यकारी निर्देशक दीपककुमार थापाले बताए । उनले अध्यापन र तालीमबाट नाथमले नेपालमा ५४ हजार दश जनशक्तिको उत्पादन गरिएकोमध्ये ९० प्रतिशतले रोजगारीसमेत पाइसकेको जानकारी दिए ।

विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले चाँडै नै विर्तामोडको चारपानेस्थित वीर अमरसिंह माविको डेढ बिघा जग्गा लिएर नाथमको भवन बनाउने तयारी भइरहेको जानकारी दिए।