ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

  Sampatti News

December 26, 2020

काठमाडैँ । गोसाइँकुण्ड गाउँपालिकाले चिसोबाट सुरक्षित गराउन आफ्ना वडाका सबै ज्येष्ठ नागरिकलाई बाक्लो कम्बल वितरण गरेको छ । रसुवाको उत्तरीभेगमा चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थालेकाले उनीहरूलाई चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत कम्बल वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार तातोका लागि कम्बल एवं स्थानीय तहबाट प्रदान गरिने स्वास्थ्य परीक्षण, औषधि वितरण, परामर्श र अपाङ्ग परिचयपत्रसमेत स्थानीय गाउँटोलमै वितरण अभियान शुरू गरिएको हो । गाउँपालिकाभित्र रहेका छवटा वडामै यस्ता किसिमका सेवा प्रदान गर्ने कार्यक्रमअनुसार दुई वडामा कार्य सम्पन्न गरिएको छ । वडा नं १ को थुमन क्षेत्रका ८५ र वडा नं ३ को वृद्विम तथा खाम्जिम गाउँमा ६६ ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिनुभयो ।

कम्बल वितरणको साथै २३८ जनालाई दक्ष चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराई औषधिसमेत प्रदान गरिएको छ । सात हजार जनसङ्ख्या रहेको यस गाउँपालिकाका बासिन्दालाई घरदैलोमै सबै सेवा दिन शुरु गरिएको छ ।

प्रकाशित मिति:December 26, 2020