काठमाडौँ– राजनीतिक रुपमा विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीबाट कहिल्यै पनि इमानदारिता नदेखिएको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित आफू पक्षीय कार्यकर्ता भेलामा नेपालले अहिले मात्रै नभइ ओली पहिल्यैदेखि इमानदारिता नभएको व्यक्ति भन्दै टिप्पणी गरेका हुन्।
अध्यक्ष नेपालले ओलीले तत्कालीन मालेरएमालेमा हुँदा कहिल्यै पनि संगठन निर्माणका लागि काम नगरेको उल्लेख गरे।
‘काम नगर्ने तर गफ गर्ने’ओलीको प्रवृत्ति नौलो नभएको उनको भनाइ छ। मदन भण्डारीले समेत ओलीलाई गफाडीको संज्ञा दिएको नेपालले दाबी गरे।
कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘मदन भण्डारीले भन्नुभएको थियो, पार्टीमा कोही गफाडी खोज्नु पर्यो भन्यो केपी ओलीलाई खोज्नु भनेका थिए। उनले कहिल्यै पार्टीको संगठन बनाउने काममा लागेनन्। कुनै गम्भीरताका साथ सोच्ने, जनताको समस्या कहिल्यै नसोच्ने जे पनि हल्काफुल्का रुपमा लिने उनको प्रवृत्ति हो। गफ गरेरै बस्ने उनको प्रवृत्ति हो।’
अध्यक्ष नेपालले नेकपा नफुट्ने तर कोही चोइटिएर गए भन्न नसकिने उल्लेख गरे।
आफूले ओलीको कार्यशैली ठिक भएन भनेर २०७५ सालमै संसदमा बोलेको उल्लेख गर्दै नेपालले अगाडि भने, कस्ता कस्ता तानशाहको विरुद्ध लडेर आइयो, ओलीको तानाशाही केही होइन।’
नेपालले ओलीले आफूहरुलाई मात्रै दुख नदिएको उल्लेख गर्दै सांसद अपहरण गरेको कांग्रेसका नेताहरुप्रति अपमान गरेको पनि बताए।