ओलीको निरंकुशता एक चुट्कीको भरमा अन्त्य गर्न सक्छुः अध्यक्ष दाहाल

  Sampatti News

January 28, 2021

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता प्रवृत्ति चुट्टीको भरमा अन्त्य हुने बताएका छन् । बुटवलमा बिहीबार नेकपाले आयोजना गरेको प्रतिनिधि सभा विघटनका विरुद्धको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने ‘ओलीको यो निरंकुश प्रवृत्ति चुट्कीको भरमा केही महिनामै अन्त्य हुन्छ ।’ ‘ओलीले जनताको सपनामाथि कुठराघात गर्ने, लोकतन्त्रको हत्या गर्ने र आफू श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन् । अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ । केही महिनाभित्र ओलीको स्वेच्छाचारीको अन्त्य हुनेछ । नेपाली जनताको विजय हुनेछ ।’

संविधानसभाबाट संविधान बनिसकेपछि राजनीतिक स्थायित्व र विकासतर्फ देश अघि बढोस भनि बाम गठबन्धन गरेपनि जनचाहना अनुरुप काम हुन नसकेको दाहालले बताए । उनले भने ‘पार्टी एकताले देशमा राजनीतिक स्थायीत्वको युग शुरु हुनेछ, समानता र सामाजिक न्यायको नयाँ युग शुरु हुनेछ भन्ने विश्वास गरेका थियौँ । तर आज तीन वर्ष नबित्दै जे सहमती भएको थियो केपीद्वारा सबै सहमती तोड्ने काम भयो ।’

अध्यक्ष दाहालले आफूले देश र जनताकै निम्ति छोरा गुमएको स्मरण गर्दै अबको बाँकी जिवन समाजवाद, सामाजिक न्याय र नेपाली जनताको समृद्धिका लागि बिताउने बाचा समेत गरे ।

प्रकाशित मिति:January 28, 2021