न्याय सेवा आयोगको बैठक बस्दै: नियुक्ती र सरुवाको निर्णय हुने

  Sampatti News

March 20, 2022

न्याय सेवा आयोगको बैठक बस्दै: नियुक्ती र सरुवाको निर्णय हुने

काठमाडौँ-आज न्याय सेवा आयोगको बैठक बस्ने भएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज न्याय सेवा आयोगको बैठक बोलाएका हुन् ।

कामु प्रधानन्यायाधीश कार्कीले आजको बैठकमा नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्ने समाचार स्रोतले बताएको छ ।

आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपराह्न २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएको न्याय परिषद् स्रोतले बताएको छ ।

लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन बैठकमा मुख्य एजेन्डाका रुपमा रहेको छ ।

त्यसै गरी आजको बैठकले न्याय सेवाका केही कर्मचारीहरुलाई सरुवा समेत गर्ने बताइएको छ ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मिरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।

न्याय सेवा आयोगको बैठक बस्दै: नियुक्ती र सरुवाको निर्णय हुने

प्रकाशित मिति:March 20, 2022