तारा एयरकाे पोखरा – जोमसोम उडान एक हप्ताका लागि स्थगित

  Sampatti News

June 2, 2022

काठमाडौं – तारा एयरलाइन्सले पोखरा – जोमसोम उडान एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले एक हप्ताका लागि पोखरा जोमसोमको उडान बन्द गर्ने निर्णय गरेको बताउनुभएको छ ।

उहाँका अनुसार बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । काठमाडौंबाट पाँच वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको हो ।

यता, मौसम विभागले बिहीबार एक सूचना जारी गदै आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने बताएको छ । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले स्पष्ट पारेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ ।

तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।

सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरूट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ।सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएका छन् ।

आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका तीन जनासहित २२ यात्रुको ज्यान गएको थियो ।

प्रकाशित मिति:June 2, 2022