अधिकृतको सेवाकालीन पाठ्यक्रम तयार

  Sampatti News

June 2, 2022

काठमाडौं – गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रदेश परिषद्को चौथो बैठकले पारित गरेको छ ।

प्रदेश र स्थानीय तहका कर्मचारी, निर्वाचित जनप्रतिनिधिलाई आवश्यक तालिम, अभिमुखीकरण गराउनेलगायत उद्देश्यबाट गठित प्रतिष्ठानले सम्पादन गर्दै आएका कार्य प्रभावकारी भएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

सरकारको कामकार्बाहीलाई प्रभावकारी बनाउने जिम्मा कर्मचारी प्रशासनको भएकाले उनीहरुलाई चुस्त र सबल बनाउन नियमित प्रशिक्षण जरुरी रहेको बताउँदै उहाँले जिम्मेवारीमा आएका कर्मचारीको वृत्ति विकासका लागि समेत तालिम जरुरत पर्ने बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रदेश र स्थानीय तहका विभिन्न सेवामा कार्यरत सङ्घीय निजामती सेवाका राजपत्राङ्कित तृतीय श्रेणी तथा प्रदेश निजामती र स्थानीय सेवाका छैटौँं, सातौँ र आठौँ तहका अधिकृतका लागि सेवाकालीन तालिम सञ्चालन गर्न पाठ्यक्रम तयार पारिएको बताउनुभयो । पाठ्यक्रममा व्यक्तित्व विकास, कौशल, नेतृत्व र प्रबन्धकीय सीप, अनुसन्धान र नवीनतम ज्ञानका साथै सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाह गर्नुपर्ने जिम्मेवारी र भूमिकासँग सम्बन्धित विषयवस्तु समावेश रहेको उहाँको भनाइ छ ।

बैठकमा प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्ले, प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति:June 2, 2022