उपसचिव मरासिनीद्वारा बालिकाको अभिभावकत्व ग्रहण

  Sampatti News

June 6, 2022

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको उपसचिव शान्ता नेपाल मरासिनीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ को आठ वर्षीया बालिका आरुषि ढकालको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले बालिकालाई विद्यालयमा अध्ययनका साथै अन्य खर्चमा सहयोग उपलब्ध गराउनु हुने भएको हो ।

स्थानीय तहको निर्वाचनमा मण्डनदेउपुर नगरमा निर्वाचन अधिकृतमा खटिनुभएको मरासिनीले सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा बालिकाको अभिभावकत्व लिएको बताउनुभयो । उहाँले नारी शिक्षित र सक्षम भएमा उनीहरुमाथि हुने हिंसा न्यूनीकरण भई शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

नगरका नवनिर्वाचित नगरप्रमुख टोकबहादुर तामाङ, उपप्रमुख विष्णुमणि नेपाल, वडाध्यक्षलगायत जनप्रतिनिधिले मरासिनीले सामाजिक सेवाको भावनाले बालिकाको अध्ययनका लागि गरेको अभिभावकत्वले धेरैलाई प्रेरणा प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति:June 6, 2022