नक्कली नोटसहित दुईजना पक्राउ

  Sampatti News Online

June 16, 2022

कैलाली । धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोट लगायतका सामग्री सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका ३ स्थित सडकमा ती किशोरले चलाएको लु‍‍‍‍ ८५ प ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साईकलयात्री र मोटरसाइकल चालकलाई मायामेट्रो अस्पतालमा उपचार गराई दुवै जना डिस्चार्ज भएकोमा मोटरसाइकल चालक ती किशोरले उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला पारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त नोट निजको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

साथै उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसिका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसेन, १ थान किबोर्ड, १ थान कैँची, २ थान ब्लेड, एक हजार दरको १ थान बिग्रेको नक्कली नोट र एक सय दरका २ थान बिग्रेका नक्कली नोट समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति:June 16, 2022