टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

  Sampatti News Online

June 23, 2022

काठमाडौं । टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डेले जानकारी दिए । २०–२१ वर्षको जस्तो देखिने अर्का एक युवकको भने सनाखत हुन बाँकी छ । शव भक्तपुर अस्पतालमा राखिएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको थियो ।
टिपर चालक दोलखाको मेलुङ–३ घर भइ हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:June 23, 2022