युरेनियमजस्तो पदार्थसहित १५ जना पक्राउ

  Sampatti News Online

July 20, 2022


जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका १५ जनालाई सार्वजनिक गरेको हो। यस्तै युरेनियम भनिएको पदार्थ पनि देखाएको छ। त्‍यो पदार्थ युरेनियम नै हो भन्ने पुष्टि भइनसकेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
प्रहरीले गत आइतबार विराटनगर महानगरपालिका ९ ट्राफिक चोकस्थित ठुल्दाइको होटलमा कोठा लिएर बसेका उनीहरूलाई पक्राउ गरेको हो। विशेष सूचना पाएपछि खटिएको टोलीले सुरूमा आठ जनालाई पक्राउ गरेको थियो।

उनीहरूबाट एक किलो ८७.३ ग्राम युरोनियमजस्तो पदार्थ बरामद भएको थियो।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका(७ बस्ने ४१ वर्षीय शिवशंकर, ३७ वर्षीय मुकेशकुमार साह, ४३ वर्षीय प्रदीप पुरी, कटहरी गाउँपालिका(२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर(१२ बस्ने ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका(७का ३५ वर्षीय गोपाल मगर, खोटाङ हलेसी नगरपालिका(९ बस्ने ३२ वर्षीय किरन राई र धनपालथानका ४४ वर्षीय लक्ष्मण शर्मा छन्।
उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले थप मानिसहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

मंगलबार दिउँसो साढे १२ बजे विराटनगर(३स्थित दूधफारमबाट थप मानिसहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट पनि ९७८।६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको कार्यालयको भनाइ छ।

गोरखा गण्डकी गाउँपालिका(८ बस्ने ४५ वर्षीय जीवन गुरूङ, महोत्तरी मंगाहा नगरपालिका(६ बस्ने ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका(१२ बस्ने ३० वर्षीय चन्दनकुमार महतो, ५५ वर्षीय रवीन्द्र गच्छदार, मकवानपुरका ३६ वर्षीय दिपकबहादुर भ्लोन, ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका(५ बस्ने २८ वर्षीय श्याम घिमिरे पक्राउ परेका छन्।

प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार उनीहरूले युरोनियमजस्तो देखिने पदार्थ भारतीयलाई बेच्ने तरखर गरिरहेका थिए।

उनीहरू होटलमा बसिरहेको थाहा पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। कतिमा बेच्न लागेका थिए भन्ने पनि नखुलेको मोरङ प्रहरीले जनाएको छ।

बरामद भएको पदार्थ युरेनियम हो वा होइन भन्ने पुष्टि गर्नको लागि सो पदार्थ काठमाडौंस्थित खानी तथा भूगर्भ विभागमा पठाउने तयारी प्रहरीले गरिरहेको छ।

प्रकाशित मिति:July 20, 2022