पेस्तोलसहित २ युवक पक्राउ

  Sampatti News Online

August 22, 2022

६ भदौ, विराटनगर । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित एक जनालाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ गरेका छन् । उक्त हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल रहेका छन् ।
बीओपी सिक्टी मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको हो।

सशस्त्र प्रहरी निरीक्षक राई नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा सोमबार साँझ ५ बजे उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो ।

उनलाई नियन्त्रणमा लिएर बीओपीमा ल्याएर सोधपुछ गर्दा हतियार बेच्न नेपाल आएको खुलेको थियो । त्यसपछि ती हतियार किन्न खोजेका अर्का व्यक्ति नविन धिमाललाई राति ८ बजे मोरङको डाम्रभिटा भन्ने स्थानबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

धिमालले प्रयोग गरेको को २२प ६७०७ नम्बरको मोटरसाइकल, ४७ हजार ७७० रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको रंगेली प्रहरीले जनाएको छ ।

यसै गरी सशस्त्र प्रहरी बल नेपाल बीओपी बनैनियाले आइतबार नै सप्तरी जिल्लाको राजगढ नगरपालिका-२ बनैनिया सीमा इलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्ना साथ उनीहरूले बोकेको शंकास्पद बस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा पेस्तोल र गोली भएको पुष्टि भएको हो ।

प्रकाशित मिति:August 22, 2022