पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

  Sampatti News Online

February 5, 2023

पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । लामो समयदेखि एमीलाेइडोसिस रोगले ग्रस्त मुशर्रफको आइतबार निधन भएको हो ।

दुबईको अस्पतालमा उपचारका क्रममा उनको ७९ वर्षको उमेरमा मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । मुशर्रफ सन् २००१ जून २० देखि २००८ को अगस्ट १८ सम्म पाकिस्तानका राष्ट्रपति थिए ।

राष्ट्रघातको आरोप सामना गरिरहेको समयमा उनलाई सन् २०१६ मेमा पाकिस्तानी अदालतले भगौडा घोषणा गरेकाे थियो । त्यसपश्चात उनी दुबई गएका थिए ।

मुशर्रफ कैयौं महिनायता अस्पतालमा भर्ना भएका थिए । उनको परिवारले ट्वीटरमार्फत उनी एमीलोइडोसिस नामको रोगसँग लडिरेहको जानकारी दिएका थिए । उक्त रोगका कारण उनका सबै अंगले काम गर्न बन्द गरेको र अब निको हुने कुनै संभावना नभएको पनि मुशर्रफका परिवारले बताएका थिए ।

एमीलोइडोसिस एक दुर्लभ किसिमको रोग हो जसमा एमीलोइड नामको शरिरमा असामान्य प्रोटिन बन्न थाल्छ । यो मुटु, मृगौला, कलेजो, स्नायु प्रणाली, दिमाग लगायतका अंगमा जम्मा हुन थाल्छ । सोहि कारणले यी अंगहरुमा टिस्युजहरुले राम्ररी काम गर्न सक्दैनन् ।

१८ वर्षकाे उमेरमा सेनामा भर्ना, १९९८मा सेना प्रमुख

क्याम्पसकाे अध्ययन सकेर १९६१ मा मुशर्रफले १८ वर्षकाे उमेरमा जुनियर अफिसरका रूपमा पाकिस्तानी सेनामा भर्ना भएका थिए । उनले १९६५काे युद्धमा भारतकाे विरूद्धमा लडेका थिए । साे युद्धबाट उनले पाकीस्तानी सरकारबाट पुरस्कृत भएका थिए । साेहि क्रममा उनी १९९८मा सेना प्रमुख बने । सैनिक कुमार्फत उनले १९९९मा सत्ता हासिल गरे । उनले सत्ता सम्हालेपछि नवाज शरीफकाे परिवार समेत पाकिस्तान छाेड्नुपरेकाे थियाे । सत्तामा रहेकाे समयमा कैयाैं मानिसमाथि अन्याय गरेकाे र हत्या गरेकाे उनीमाथि अभियाेग छ ।

२०१६मा छाेडे पाकिस्तान

सन् २००७ नाेभेम्बर ३मा संकटकाल घाेषणा गरेर संविधान निलम्बन गरेकाे आरोप मुशर्रफमाथि थियाे । २०१३मा उनीमाथि देशद्राेहकाे मुद्या लागेकाे थियाे । उनीमाथि अन्तरराष्ट्रिय यात्रा गर्न प्रतिबन्ध लगाइएकाे थियाे । यद्दपी २०१६ मार्च १८ काे बिहान नै उनले पाकिस्तान छाेडेका थिए। साेहि मुद्यामा मुशर्रफलाई मृत्युदण्डकाे सजाय सुनाइएकाे थियाे । तर साे समय उनी बिरामी भएर अस्पतालमा उपचाररत रहेका थिए ।

भारतकाे सम्पन्न परिवार

मुशर्रफ सन् १९४३मा भारतकाे दिल्लीमा जन्मेका थिए । परवेज मुशर्रफकाे परिवार भारत र पाकिस्तान टुक्रिनुअघि भारतकाे सम्पन्न परिवार थियाे । उनका हजुरकुवा ट्याक्स कलेक्टर थिए । उनका बुवा पनि बेलायतीहरूकाे समयमा हाकिम थिए । मुशर्रफकी आमा बेगम जरीन १९४०मा अलीगढ मुस्लिम विश्वविद्यालयमा पढ्थिइन् । याे परिवारकाे पुरानाे दिल्लीमा ठुलाे घर थियाे र मुशर्रफकाे जन्मपछि चार वर्षसम्म उनी साेहि घरमा बसेका थिए ।

प्रकाशित मिति:February 5, 2023