राष्ट्रपति बाइडेनले गरे पुनः चुनाव लड्ने घोषणा

Nepal Cover
१३ बैशाख २०८०, बुधबार
image

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन्। असी वर्षको उमेरमा पनि उनी राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुन्।

समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा मंगलबार गरेका हुन्।

बाइडेनले आफू राष्ट्रपति भएपछि गर्न खोजेका काम पूरा नभएकाले फेरि अर्को कार्यकाल राष्ट्रपति हुन चाहेको बताएका छन्।

‘चार वर्षअघि म राष्ट्रपति उम्मेदवार हुँदा भनेको थिएँ- हामी अमेरिकाको आत्माका लडिरहेका छौं, हामी अहिले पनि त्यसैका लागि लडिरहेका छौं,’ बाइडेनले भनेका छन्,‘अहिले सन्तुष्ट भएर मजाले बस्ने बेला छैन। त्यही भएर म फेरि चुनाव लड्दैछु।’

सन् २०२० को चुनावमा बाइडेनले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका थिए। २०२४ मा पनि उनीहरू नै आमनेसामने हुने सम्भावना बलियो छ।

चुनाव लड्ने बेलासम्म बाइडेन ८२ वर्षका हुनेछन्। अहिलेसम्मको इतिहासमा उनी अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन्।

चुनाव होउन्जेलसम्म ट्रम्प पनि ७८ वर्षका हुनेछन्।

यो उमेरमा फेरि राष्ट्रपति लड्न खोज्दा दुबै जनाको उमेरबारे पार्टीमा पनि बहस भइरहेको छ। ४४ प्रतिशत डेमोक्र्याटले फेरि राष्ट्रपति हुन बाइडेन निकै बुढो भएको बताएका छन् भने ३५ प्रतिशत रिपब्लिकनको पनि ट्रम्पबारे यस्तै धारणा छ।