साताको अन्तिम शेयर बजारमा दोहोरो अंकको वृद्धि

  Sampatti News Online

May 4, 2023

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । यस साताको सुरुवातदेखि नै घटेको नेप्से आज भने बढेको हो । 

आज नेप्से १२.७३ अंकले बढेर एक हजार ८ सय ६९ दशमलब ७३ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने खासै उत्साह देखिएको छैन ।  त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७६ स्टकको २० हजार ६५५ पटकको कारोबारमा ७३ करोड २६ लाख रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक ९.८६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लक्ष्मी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने सयपत्री हाइड्रोपावर र आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनएमबि बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ५.८५ प्रतिशत घटेको छ। त्यसैगरी, नेपाल एसबिआई बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित मिति:May 4, 2023