बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय छ : प्रधानमन्त्री प्रचण्ड

  Sampatti News Online

May 5, 2023

लुम्बिनी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका छन् ।

२५६७औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २५६७ वर्षअघि नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका हुन् ।

बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुवै रहेका बताएका प्रधानमन्त्री प्रचण्डले  वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गरेका बताए ।  दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा बुद्धको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेको बताउँदै उनले   पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व भएका धारणा राखे ।

नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गरेको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिने प्रधानमन्त्रीले बताए । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, चिनियाँ राजदूत च्याङ सोङ, यूएनडीपीका नेपाल प्रतिनिधि एशियनी लादे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको महत्त्वबारे बोलेका थिए ।

प्रकाशित मिति:May 5, 2023