एजेन्सी । पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक-ए-इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्। गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, “मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म एउटा सन्देश दिन चाहन्छु। यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ। आज इमरान खान उनको नियन्त्रणमा छन् जसबाट उनको ज्यानलाई जोखिम छ।”उनले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भनेका छन्।
पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएपछि जारी प्रदर्शनहरूमा उनका समर्थकहरू र सुरक्षा फौजहरूबीच झडप भएका र सरकारी भवनहरूमा आक्रमण गरिएका विवरण आइरहेका छन्। राजधानी इस्लामावादमा एउटा प्रहरी चौकीमा आगजनी गरिएको छ।
पछिल्लो तनावमा कम्तीमा १० जना मानिसहरूले ज्यान गुमाएका छन्। पन्जाब र खैबर पख्तुनख्वामा अमनचयन कायम गर्न सेना परिचालन गरिएको छ। खानलाई आठ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले आफूमाथिका आरोप राजनीतिक रूपमा पूर्वाग्रही भएको बताउँदै आएका छन्।
यसअघि पाकिस्तानको सेनाले सैन्य अखडाहरू र सार्वजनिक सम्पत्तिहरूमा आक्रमण गर्नेहरू विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।