कसरी विस्तार भयो बिचौलिया

  Sampatti News Online

May 12, 2023

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका बारेमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले नयाँनयाँ तथ्य उजागर गर्न थालेको छ ।

कर्मचारीलाई घूस दिएर काम लिने बिचौलिया समयक्रमसँगै आफू मातहतकालाई नियुक्ति दिने चरणमा पुगे । चुनावमा नेताहरुलाई सघाउन थाले, आफूलाई अनुकूल हुने गरी मन्त्री र सांसदहरु बनाउन थाले अनि संसद् छिरेर व्यापार अनुकूलको कानुन बनाउन भूमिका खेले । अहिले दलका आन्तरिक विवाद व्यवस्थापन गर्ने हैसियतमा पुगेका छन् ।

पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले तयार पारेर मन्त्रालयलाई बुझाएको प्रतिवेदन बिचौलियाको हातमा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ ।

२०७६ कार्तिक १ गते पन्थी कार्यदलले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) लाई प्रतिवेदन बुझाएको थियो । त्यसरी बुझाइएको प्रतिवेदन मन्त्रीले प्रशासनिक नेतृत्वलाई हस्तान्तरण गरेका थिए । त्यसपछि सो प्रतिवेदन मन्त्रालयमा नै राखिएको थियो ।

त्यसरी बुझाइएको प्रतिवेदन मन्त्रालयमा राखिएको लकरमा चाबी लगाएर राख्ने चलन रहीआएको छ । अहिलेसम्म मन्त्रालयले गठन गरेको जाँचबुझ आयोग तथा छानबिन आयोग तथा कार्यदलले तयार पारेको प्रतिवेदन लकरभित्र राख्ने प्रचलन रहेको गृहका अधिकारीहरू बताउँछन् । त्यसरी तयार पारिएको प्रतिवेदनको सुरक्षाका लागि लकरमा दुईवटा चाबी लगाइने गरिएको थियाे ।

लकरको चाबी दुईवटा हुने र एउटा चाबी गृह सचिव र अर्को चाबी मन्त्रालयका शान्ति सुरक्षा हेर्ने सहसचिवसँग हुने पनि ती अधिकारीले बताए । गृह सचिव र शान्ति सुरक्षा महाशाखाका सहसचिवसँग हुने चाबी फरकफरक हुने भएकाले एउटाले चाहँदैमा उक्त लकर खोल्न सक्ने अवस्था थिएन ।

मन्त्रालयमा बुझाइएको उक्त प्रतिवेदनपछि गिरोहको हातमा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई तेस्रो मुलुक लैजाने गिरोहको दबाबमा नियुक्त भएका कार्यदलका सदस्य गणेश केसीले उक्त कार्यदलमा कुनै प्रभाव पार्न नसकेपछि गिरोहका सदस्यहरूले पन्थीले तयार पारेको प्रतिवेदनको अनुसूचीलाई तलमाथि गर्न गृहका अधिकारीहरूलाई नै प्रयोग गरेर प्रतिवेदन फुत्काउन सफल भएको स्रोतको दाबी छ ।

प्रकाशित मिति:May 12, 2023