आफूविरुद्ध मुद्धा दर्तापछि रवि लामिछानेको आक्रोश- ‘इरिटेट गर्ने पनि सिमा हुन्छ’

  Sampatti News Online

May 25, 2023

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएपछि आक्रोश व्यक्त गरेका छन् ।

अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा सरकारी निकायमा पेस गरि नेपाली नागरिकता पुन कायम गरिसक्दा पनि आफूमाथि निरन्तर प्रहार भइरहेको भन्दै बिहीवार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले ‘मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ’ भन्दै आक्रोश पोखेका हुन् । उनले घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतको मिति २०७९—१०–१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको लामिछानेले बताए । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।

‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०–०२–०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५–०३–०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए। टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ,’ उनले भने । यस्तै लामिछानेले घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने बताए ।

प्रकाशित मिति:May 25, 2023