भ्रष्टाचारमा ओलीको नाम लिएपछि एमाले सांसदले गरे सदन अवरुद्ध

  Sampatti News Online

May 26, 2023

काठमाडौं । भ्रष्टाचारमा अध्यक्ष केपी शर्मा ओलीको नाम लिएको भन्दै प्रमाणित गर्न चुनौती दिँदै सरकारको जवाफ मागेर एमाले सांसदले सदन अवरुद्ध गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।

त्यसपछि गिरीले सत्तारुढ दलकै सांसदबाट पशुपतिनाम मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए ।

उनले सुनको जलहरीमा पित्तल राखेको भनेर सत्तारुढ दलकै सांसदबाट अभिव्यक्तिप्रति सरकारको जवाफ र उक्त सांसदले माफी माग्नुपर्ने बताए ।

भ्रष्टाचारका सबै फाइल खोलेर कारबाही गर्नुपर्ने पक्षमा एमाले पनि रहेको बताउँदै उनले चालु अधिवेशनमा भ्रष्टाचारकै विषयमा छलफल गर्नुपर्ने बताए ।

तर, निराधार रुपमा आफ्ना अध्यक्ष ओलीमाथि लगाएको आरोप प्रमाणित गर्न उनले चुनौती पनि दिए । सभामुख घिमिरेले पटक पटक बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहेका छन् ।

संसदीय दलका उपनेता सुवास नेम्वाङले सदन अवरोध गर्न नहुने भए पनि प्रमुख प्रतिपक्षी दलका नेतामाथि गम्भीर आरोप लगाएपछि बाध्य भएको बताए । यो सँगै आजको संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल पनि प्रभावित बनेको छ ।

प्रकाशित मिति:May 26, 2023