नयाँदिल्ली । नेपाल र भारतबीच सात वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सिलीगुड़ी -झापा पेट्रोलियम पाईपलाईन निर्माण, दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट र क्रॉस बॉर्डर पेमेन्ट लगायतका समझदारी पत्रमा हस्ताक्षर भएको छ।
त्यसका लागि भारतले झन्डै १७ अर्ब रुपैयाँबराबरको सहयोग उपलब्ध गराउने भएको छ। त्यसबाट दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारणस्थल निर्माण हुने भएको छ।
भण्डारणस्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतको सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै झापामा भण्डारणस्थल निर्माण हुनेछ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच लामो समयदेखि उक्त पाइपलाइन निर्माणका विषयमा छलफल हुँदै आए पनि सहमति हुन सकेको थिएन। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सरकारीस्तरमै ती परियोजना अगाडि बढाउने सहमति भएको हो।