इन्दौर भ्रमण सकी प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान

  Sampatti News

June 3, 2023

आज साँझ स्वदेश फर्कने

इन्दौर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दिउँसो विशेष विमानमार्फत् मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् ।

इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरे। उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए।

सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताउए। उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए।

प्रधानमन्त्री दाहालले आजै इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरे।

सो क्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका थिए।

प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशका मुख्यमन्त्रीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी भएका थिए।

प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने कार्यक्रम छ। उनी यही जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए। रासस

प्रकाशित मिति:June 3, 2023