सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको शव फेला,एक अझै बेपत्ता,पोस्टमार्टमका लागि काठमाडौँ ल्याइयो

Nepal Cover
२३ जेष्ठ २०८०, मंगलवार
image

काठमाडौँ । सिन्धुलीस्थित सुनकोशी नदीमा मंगलबार फेला परेका दुई जनाको शवको सनाखत भएको छ। मंगलबार सवा ६ बजे गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित नदीमा दुई जनाको शव फेला परेको थियो। दुई वटै शवको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिटिइभिटीको प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको हो। उनीहरूलाई सशस्त्र प्रहरी बलको गोताखोरले बेपत्ता भएको गाडीभित्रैबाट फेला पारेको हो। गोताखोरले अन्दाजी ३० फिट गहिराइबाट गाडी फेला पारी एक्सकाभेटरको सहयोगबाट बाहिर निकालिएको हो।


शवलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल बुझाइएको छ ।पोस्टमार्टम पश्चात् परिवारजनलाई शव बुझाइने सिटिइभिटी श्रोतले जनाएको छ ।
सिटिइभिटी सदस्यसचिव जीवनारायण काफ्लेका अनुसार योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल भने अझै बेपत्ता छन्। भोलि बिहान पुनः गोताखोरले खोजी गर्ने सदस्यसचिव काफ्लेले जानकारी दिए । स्थानीय बासिन्दाका अनुसार भुर्तेलको शव पानीले बगाएका कारण भेटिने सम्भावना न्यून छ ।

गत शुक्रबार बिहान अन्दाजी साढे ११ बजे गोलन्जोर गाउँपालिका–७ लौकुनबाट बा १ झ ७४६७ नम्बरको गाडी नदीमा खसेको थियो। गाडी खसेको स्थानबाट करिब दुई सय मिटर तल गाडी फेला परेको थियो ।

सम्बन्धित समाचारका लागि तलका लिंकमा क्लिक गर्नुहोला ।

सिन्धुली दुर्घटना : सुनकोशीमा खसेको सिटिइभिडीको गाडी र २ वटा शव भेटियो

सिन्धुली जीप दुर्घटना : सहसचिवसहित तीन वेपत्ताको खोजीका लागि नदी डाइभर्सन गरिँदै

सुनकोशी नदीमा गाडी खस्दा, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता