विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गरियोस्: महेशकुमार

  Sampatti News Online

June 21, 2023

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा दोस्रो बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन् ।

सर्वोच्च अदालतको फैसला र आफैंले विगतमा गरेको सम्झौता अनुसार पनि उनीहरुको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाई गर्न नहुने सचेतक बर्तौलाले बताए ।

उनले विद्यालय तहका कार्यालय सहयोगीले मासिक ८ हजार र लेखापालले १३ हजार ५ सय मासिक तलव पाउने गरेको उल्लेख गर्दै यस्तो तलवले कसरी उनीहरुको गुजारा चल्न सक्छ ? भनी सरकारलाई प्रश्‍न गरे।

उनले भने, ‘उहाँहरुले विगत लामो समयदेखि लेखापालले १३ हजार ५ सयमा मासिक रुपमा काम गरिरहनु भएको छ । कार्यालय सहयोगीले जम्मा ८ हजारमा काम गरिरहनु भएको छ । कल्पना गर्नोस् । ८ हजारमा एउटा कर्मचारीले उसका बच्चा हुन्छ । परिवार हुन्छ । ८ हजार तलवले के गर्छ रु १० हजार छ सय तलवले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ ?

‘यो कामलाई पूरा गर्न सरकारले सहमती पनि गरेको छ । न्यूनतम तलव सुविधा उहाँहरुले खरदार सरहको माग गरेर आन्दोलन गरिरहनु भएको छ । सरकारले विगतमा पनि सो मागलाई पूरा गर्ने सम्झौंता गर्‍यो । सर्वोच्च अदालतबाट पनि उहाँहरुको पक्षमा आदेशहरु भए। तर कार्यान्वयन भएको छैन।

नेपाल विद्यार्थी कर्मचारी परिषद्को अगुवाइमा भइरहेको रिले अनसन जारी छ। आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किँदै गर्दा बीच सडकमा बसेर प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो। ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका ५ जना विद्यालय कर्मचारीलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

प्रकाशित मिति:June 21, 2023