वीर अस्पतालका ७ सय शय्या शुक्रबारदेखि निःशुल्क

  Sampatti News Online

June 23, 2023

काठमाडौं । वीर अस्पतालमा आज (शुक्रबार) देखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि ७ सय साधारण शय्या निःशुल्क गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार अस्पतालका ७ सयवटै शय्या निःशुल्क गर्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) पदाधिकारीको बैठकले क्याबिन र आइसियुबाहेक वीरका सबै ७ सय वटै शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय कार्यान्वयन भएको बारे जानकारी दिँदै ‘हिजै न्याम्सका पदाधिकारीलाई बोलाएर वीर अस्पतालका ७ सय वटै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएको थिएँ । आज निर्णय भएर कार्यान्वयनमा आयो । जनताका पक्षमा काम गर्न सकेकोमा खुसी लागेको छ’, मन्त्री बस्नेतले भनेका छन् ।

वीर अस्पतालमा यसभन्दा पहिले जनरल बेडको शुल्क दैनिक रु. २०० लाग्ने गरेको थियो । दैनिक २०० रुपैयाँ तिर्न पनि विपन्न बिरामीलाई हम्मे हम्मे पर्दथ्यो । अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी ९६० शय्या रहेका छन्। ७०० शय्या निःशुल्क भएपछि वीरलाई करिब ६ करोड भार थपिने छ ।

प्रकाशित मिति:June 23, 2023