क्यान्सर केयर फाउन्डेसनमा म्यामोग्राफी मेसिन जडान

  Sampatti News

July 24, 2023

काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण भएको छ । म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो ।

जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स–जीजीपी) अन्तर्गत फाउन्डेसनको महिला क्यान्सर सेन्टरमा मेसिन जडान भएको हो ।

म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण गर्न सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्च मै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोना महामारीले पर सरेको बताए ।

जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण उपलब्ध भएपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख सुधार आएको उनको भनाइ छ । पछिल्लो एक वर्षमा यो मेसिन प्रयोग गरेर ५०० भन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको र व्यावहारिक प्रयोगमा यो निकै उपयोगी देखिएको जानकारी आफूले पाएको पनि उनले बताए ।

भाइरस परीक्षण र खोपमार्फत रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत प्रारम्भिक रुपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न यो मेसिन अन्यन्तै महत्वपूर्ण हुने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले गैरनाफामुलक फाउन्डेसनको क्यान्सरविरोधी लडाइँलाई उक्त मेसिन बरदान सावित हुने बताए । फाउन्डेसनका महासचिव डा. सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिन्छ भन्ने मान्यता बोकेर सन् २०१४ मा स्थापित संस्था विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताइन् ।

फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैंले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पुर्याइरहेको पनि उनले जानकारी दिइन् ।

त्यसैगरी, सरकारलाई राष्ट्रिय क्यान्सर नीति बनाउन चाहिने विज्ञता उपलब्ध गराएको र सरकारसँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिएको उनको भनाइ छ । फाउन्डेसनले घुम्ती स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।

फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र अर्यालले जापान सरकारको यो सहयोगबाट संस्थालाई यसको लक्ष्यमा पुग्न निकै सहज हुने बताए । उक्त म्यामोग्राफी मेसिन संस्थाका लागि असाध्यै बहुमूल्य उपकरण भएको भन्दै यसले संस्थाको परिकल्पना र संकल्पलाई मूर्त रुप दिलाउन ठूलो सहयोग गरिरहेको आर्यलले बताए ।

उपचार गरेर निको पार्न सकिने अवस्थामै स्तन क्यान्सर पहिचान गर्न मद्दत गर्ने हुँदा यो मेसिन स्तन क्यान्सरको जोखिममा रहेकाका लागि बरदान सावित हुने उनको विश्वास छ ।

प्रकाशित मिति:July 24, 2023