कैलालीमा बाढीले साढे चार सय परिवार प्रभावित

  Sampatti News Online

August 8, 2023

अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले कैलालीमा दर्जनौँ परिवार प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढी घरमा पसेर जिल्लाभर करिब चार सय ६२ परिवार प्रभावित बनेका छन्। तीमध्ये केही परिवार विस्थापित भएका छन्।

विस्थापित भएका परिवारको यकिन संख्या जिल्ला प्रशासन कार्यालयसँग छैन। कान्द्रा नदीमा आएको बाढी बस्ती पस्दा भजनी नगरपालिका– ७, शिराधानी शिविरमा एक सय ५० परिवार प्रभावित भएका प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। भजनी– ५ कुटीका ५० घरधुरी र पुलियापुरका १६ घरधुरीमा कान्द्रा नदीको बाढी पसेको छ।

त्यस्तै, कटैनी खोलामा आएको बाढीका कारण कैलारी गाउँपालिका– ७ वसन्ताका ८५ घरधुरी, बड्की वसन्ताका ५० घरधुरी र भुँइयाफाँटाका २० घरधुरी प्रभावित बनेका प्रशासनले जनाएको छ।

गोदावरी नगरपालिका–४ बुढीतोला र चुरे गाउँपालिका–गोपालेमा गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। भीमदत्त राजमार्ग सुदूरपश्चिम प्रदेशका ७ पहाडी र तराईका २ जिल्ला जोड्ने प्रमुख सडक हो। 

पहिरोका कारण भीमदत्त राजमार्ग विभिन्न ठाउँमा भास्सिएको छ। सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ। 

प्रकाशित मिति:August 8, 2023