शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

Nepal Cover
२२ चैत्र २०८२, आईतवार
image

काठमाडौँ । नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ।

सरकारले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गते (सोमबार) देखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार (दुई दिन) बिदा दिने निर्णय गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताएका छन् ।  

पोखरेलका अनुसार सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । 

त्यस्तै, सरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको पोखरेलले बताएका छन् ।

यता सरकारले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ । सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट शुरु गर्ने निर्णय शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।