मकवानपुर पहिरोमा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला

  Sampatti News Online

August 9, 2023

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ ।

मङ्गलवार बिहान वर्षासँगैको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो ।

उनीहरूको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोले बगाएको घरभन्दा १० किलोमिटर टाढा दुई जनाको शव फेला परेसँगै यो पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मङ्गलवार साँझ जीवितै उद्धार गरिएको थियो । उनको करिब सात किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको हो । घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै उक्त पहिरोमा परेर तीन जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन् ।

प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पहिरोमा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मङ्गलवार नै मृत्यु भएको थियो ।

प्रकाशित मिति:August 9, 2023