शीर्ष नेतालाई सत्ताकै त्रास

  Sampatti News Online

August 11, 2023

काठमाडौं । सत्ता सहयात्री दलका शीर्ष नेताहरूलाई विभिन्न समयमा भएको भ्रष्टाचार र हत्याकाण्ड जस्ता जघन्य अपराधसम्बन्धी पुराना मुद्दा ब्युँतिने त्रास बढेको छ । पछिल्लो समय ललिता निवास प्रकरणको मुद्दा ब्युँतिएपछि आठ दलीय सत्ता गठबन्धनका रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई सरकारले पुराना मुद्दामा जेल पठाउने सक्ने त्रास बढेको हो ।

सरकारको साझेदार दलका शीर्ष नेताहरूमाथि नै सरकारले छानबिन थाल्ने हो भने सरकारको आयु कति हुने हो भन्ने राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । आठ दल जोडेर बनेको सरकारका समर्थक दलका नेताहरूमाथि छानबिन थाल्दा पार्टीले सरकार छाड्ने अवस्था आउने र सरकार अल्पमतमा पर्ने खतराका कारण यी घटनामा अहिले नै छानबिन भइहाल्ने अवस्था नरहेको नेकपा माओवादी केन्द्रकै एक नेताले बताए । केही समय टिकेर सुशासनको पक्षमा काम गर्नका लागि पनि अहिले नै पुराना घटना र राजनीतिक मुद्दाहरूलाई चलाइहाल्ने अवस्था छैन । अहिले आएको सय किलो सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा काण्डमा सरकारले छानबिन गरिरहेको छ । कसैले आरोप लगाउनेबित्तिकै पूर्वप्रधानमन्त्रीहरूलाई नै तानिहाल्नुपर्छ भन्ने हुँदैन ।’

विगत १७ वर्षअघि भएको गौर हत्याकाण्डमा पीडितहरूको दबाबमा सरकारले उक्त घटनाको छानबिन गर्ने बताएपछि जसपा अध्यक्ष उपेन्द्र यादव सरकारसँग त्रसित बन्नुभएको छ । गौर हत्याकाण्डको छानबिन गर्ने सहमति ‘योजनावद्ध त होइन’ भन्ने आशंका व्यक्त गर्दै यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी अघि बढाउनुभएको स्रोतको दाबी छ । तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको द्वन्द्वका क्रममा वि.सं. २०६३ को चैत ७ मा गौरको राइस मिलमा भएको हिंसात्मक झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । उनीहरूलाई जअफोका कार्यकर्ताहरूले कुटपिट गरी जलाएर तथा गोली हानी हत्या गरेको भन्दै पीडितहरूले सरकारसँग छानबिन गरी कारबाहीको माग गरिरहेका छन् ।

गृह मन्त्रालयले मंगलबार गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्ने सहमति गरेको थियो । पछिल्लो समय संघर्ष समितिले यो घटनाको योजनाकार उपेन्द्र यादव भएको आरोप लगाउँदै यादवको गिरफ्तारीको माग गर्दै धर्ना र प्रदर्शन जस्ता कार्यक्रम गरेको थियो । प्रधानमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी सक्रिय भइरहेका बेला जसपा अध्यक्ष यादवलाई गौर हत्याकाण्डले तनाव उत्पन्न भएको हो ।

पछिल्लो समय प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न पहुँचवालाहरूमाथि निगरानी बढाउने क्रम शुरू गरेको छ । उक्त घटनाको फाइल नखोल्न सत्ता गठबन्धनमा जसपाका नेताहरूले दबाब बढाउने रणनीति अपनाउँदै उनीहरूले गौर घटना राजनीतिक द्वन्द्वका कारण भएको र यसलाई संक्रमणकालीन मुद्दाको रूपमा सम्बोधन गर्नुपर्ने भन्दै नेतृत्वलाई दबाब दिने गरेका छन् ।

त्यस्तै, बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय प्रक्रियामा सहभागी पूर्वप्रधानमन्त्रीहरू समेतलाई अदालतले छानबिन गर्न भनेपछि पूर्व प्रधानमन्त्रीद्वय मधवकुमार नेपाल र बाबुराम भट्टराई पनि तर्सिएको बताइएको छ । मन्त्रिपरिषद्बाट भएको निर्णयले जग्गा व्यक्तिको नाममा गएको देखिएपछि तत्कालीन मन्त्रिपरिषद्को नेतृत्व गरेका पूर्वप्रधानमन्त्रीद्वय नेपाल–भट्टराईमाथि अनुसन्धान बढ्न सक्ने देखिन्छ ।

प्रकाशित मिति:August 11, 2023