अस्पतालबाटै नवजात शिशु बिक्री घटना ः यी हुन् चिकित्सकसहित पक्राउ परेका ६ जना

Nepal Cover
६ भाद्र २०८०, बुधबार
image

काठमाडौं– विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु पाँच लाख रुपैयाँमा किनबेच भएको खुलेको छ। अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले बच्चाका लागि पाँच लाख र उपचारका लागि थप दुई लाख रुपैयाँ दिएको खुलेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा. कर्णले शिशुको मूल्य पाँच लाख लिएको र उपचारका लागि थप दुई लाख रकम लिएको बयान दिएकी छिन्।

प्रहरीले मंगलबार दिलमायाको घरबाट उक्त शिशुको उद्धार गरेको छ। अविवाहित जोडीबाट जन्मिएको उक्त शिशु बेपत्ता पारिएको भन्दै शिशुकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्।

अनुसन्धान गर्दै जाँदा मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बिक्री गरेको पत्ता लागेको हो। उक्त शिशुलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले उपचारका लागि दुई लाख रकम दिएको राजवंशीले बयानमा बताएकी छिन्।

मोरङ प्रहरीले यो प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिशु बिक्रीमा संलग्न चिकित्सक कर्ण, खरिद गर्ने दिलमाया, अस्पतालमा कार्यरत सुधा राजवंशी, दिलमायाका पती सूर्यनारायण राजवंशी, भोजपुरको हतुवागडी गाउँपालिका–४ का गोविन्द राई र सिरहाको कल्याणपुर नगरपालिका–१२ की निर्मला यादव रहेका छन्।

असार १४ गते जन्मिएकी नवजात शिशुलाई बेपत्ता पार्ने उनीहरुलाई अदालतबाट पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।