सभापति देउवाद्वारा डा. कार्कीप्रति श्रद्धाञ्जली

  Sampatti News

August 24, 2023

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता स्व डा. राजाराम कार्कीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशसभाका पूर्व सदस्य डा। कार्कीको बुधबार साँझ उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

श्रद्धाञ्जली सभामा काँग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, परराष्ट्र मन्त्री एनपी साउद, काँग्रेस नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य, जिल्ला सभापति एवं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

धादिङ नीलकण्ठ नगरपालिका निवासी नेपाली काँग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्व कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।

पार्टी प्रतिबन्धित भएको समयमा विसं २०३० मा नेपाल विद्यार्थी सङ्घ धादिङको जिल्ला अध्यक्ष बनेका डा। कार्की विसं २०३७ मा नेविसङ्घ महाराजगञ्ज क्याम्पसको अध्यक्ष बनेका थिए ।

वि.सं २०४३ मा महाराजगञ्ज क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति, वि.स. २०५३ मा नेपाली काँग्रेस धादिङको जिल्ला सचिव, विसं २०५४ मा तरुण दलको केन्द्रीय महासचिव, विसं २०५८ मा नेपाली काँग्रेसको केन्द्रीय सदस्य र वि.सं २०६४ मा धादिङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । कार्की अघिल्लो कार्यकालमा बागमती प्रदेशमा सांसद बनेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति:August 24, 2023