प्रहरीको हतियार लुट्ने मुख्य गिरोहसहित ६ जना मोरङबाट पक्राउ

  Sampatti News

September 10, 2023

विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् ।

गत शुक्रवार साढे १२ बजे ड्युटीमा खटिएका प्रहरीको चाइनिज पेस्तोल लुट्ने समूहका ६ जनालाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सादा पोसाकमा खटिएका दुई जना प्रहरीको हतियार लुटेको आरोपमा बुढीगंगा गाउँपालिका बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बोकेको पेस्तोलबाट फाइरिङ नभएपछि लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेर लगेको अनुसन्धानबाट खुलेको छ । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरी त्यस क्षेत्रमा खटिएका थिए । 

उनीहरू शुक्रवार साढे १२ बजे बर्जु गाउँपालिका पुगेका थिए । ४ जनाको लुटेरा समूहलाई देखेपछि प्रहरीले आफ्नो साथमा भएको पेस्तोल फाइरिङ गर्न खोजेका थिए । तर फाइरिङ नभएपछि लुटेरा समूहले प्रहरीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल र लुटेरासँग भएको अर्को एक थान कटुवा पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:September 10, 2023