वीरगञ्ज महानगरले एकै पटक बर्खास्त गर्‍यो ७ सय ३८ कर्मचारी

  Sampatti News

September 13, 2023

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले एकै पटक ७ सय ३८ जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीहरुलाई बर्खास्त गरेको छ । महानगरपालिकाले २६ भदौदेखि लागू हुने गरी विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीहरुलाई बर्खास्त गरेको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले कामकाजमा नलगाउने सम्बन्धमा जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा विगतदेखि त्यहाँ वडा कार्यालयरस्वास्थ्य चौकीरकेन्द्ररमहाशाखारशाखारउपशाखा समेतमा विभिन्न मितिदेखि विभिन्न पदमा कामकाज गर्दै आएको (कर्मचारी बाहेक) सबै कर्मचारीहरुलाई आजकै मितिदेखि लागू हुने गरी कामकाजमा नलगाउनु हुन अनुरोध छ ।’ सूचनामा अब उप्रान्त त्यस्ता व्यक्तिहरुको डोर हाजिरी प्रमाणित गर्ने पदाधिकारीले आफ्नो निजी श्री सम्पत्तिबाट निज कर्मचारीहरुको तलब भत्ता व्यहोर्नुहुनु समेत अनुरोध गरिएको छ ।
महानगरपालिकाको आवश्यकता र औचित्य भन्दा पनि भागबण्डाका आधारमा गरिएको नियुक्तिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेपछि रातारात कर्मचारी बर्खास्त गरिएको स्रोतले जनायो । महानगरपालिकाको आन्तरिक राजश्वबाट बार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

नगर प्रहरी, दमकल, सरसफाई, वडा कार्यालय, स्वास्थ्य चौकी, महाशाखा, शाखा, उपशाखासमेतमा काम गर्ने गरी विभिन्न पदमा नियुक्त भएका कर्मचारीहरु एकै पटक बर्खास्त भएपछि महानगरको सेवा प्रभावित भएको छ । वडा नं। १७ का अध्यक्ष सञ्जीव बहादुर क्षेत्रीले पूर्व जानकारी विनै कर्मचारी हटाउँदा सेवा प्रवाहमा समस्या भएको बताए ।

यसबारेमा बुझ्न खोज्दा महानगरपालिकाका प्रमुख राजेश मान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र सूचना अधिकारी अरबिन्द लाल कर्णको मोबाइल अफ छ ।

प्रकाशित मिति:September 13, 2023